Print

सम्पन्न पुस्तकालय ज्ञान प्राप्तिको लागि सागर समान हो । कुनै पुस्तकालयको सार्थकता केमा आधारित छ? भन्ने प्रश्नको उत्तर दिनुपर्दा दराजमा खात लगाइएका पुस्तकहरुको खात नै यसको यथार्थता एवं सार्थकता हो भन्नु स्वभाविक पर्दैन । पुस्तकालयको खास रुपमा उपयोग तथा सार्थकता त तबमात्र मान्न सकिन्छ जबबाट धेरै भन्दा धेरै पाठकले खोजेको पुस्तक, पात्रपत्रिकाहरु सहज एवं सरल रुपमा पाउँन, हेर्न पढ्न सकून् । पढेर अपेक्षित अंश  उतार्न नोट गर्न र फोटोकपी समेत गर्न पाऊन् । कारण ज्ञानार्जनमा अघि बढेका अधिकांश आफूलाई आवश्यक पर्ने किताबहरु पुरै किन्न र व्यवस्थित रुपले संकलित गरेर राख्न सक्तैनन् । त्यसो हुँदा पुस्ताकालयले त्यस्ता ज्ञानार्जनमा अग्रसर हुनेहरुलाई आवश्यक बौद्धिक एवं शैक्षिक सामग्री दिलाएर सहयोग पुर्याउन सक्छ । यस किसिमको सहयोगलाई एउटा सभ्य र सजग समाजको परिचायक चिन्हको रुपमा लिईने, गणना गरिने गरिएको छ ।

नेपालको विगत कालतिर दृष्टि दिंदा राजा गिर्वाणयुद्ध विक्रम शाहको (वि.सं. १८६९) पालामा पुस्तक चिताई तहविलको रुपमा आधिकारिक पुस्तकालयको स्थापना भएको पाइए पनि पुस्तकालयको संरचनामा सर्वप्रथम राणप्रधानमन्त्री वीरशम्शेरको ध्यान गएको देखिन्छ । जसको फलस्वरुप वीर पुस्तकालयको स्थापना भयो । निजीस्तरको त्यसरी पूतकालय तयार गर्नेहरुमा नायव वडा गुरुज्यू हेमराज पाण्डे, सरदार राममणि आदि देखिएका छन् भने चन्द्र शम्शेरका छोरा केसर शम्शेर पनि त्यही पंक्तिमा पर्दछन् । आÇनो सतवार्षिकि समेत मनाइ सकेको यस पुस्तकालय चार दशकदेखि केसर पुस्तकालय नामले राष्ट्रिय स्तरको पूस्तकालयको रुपमा परिचालित हुँदै आएको छ ।

 एकतन्त्रीय शासनको अन्त्यमा चन्द्रपुत्र केसर शम्शेर लाठसाहेब थिए । किशोर अवस्थादेखि उनमा विविध किसिमका पुस्तक पत्रपत्रिकाहरु किन्ने संकलन गर्ने सौख जागेछ । यस्तै क्रममा उनीलाई पदाधिकारीका रुपमा बेलायत जाने मौका मिल्यो । बेलायत पुगेका केसरको ज्ञानविज्ञानतिरको हौसला र आकर्षण अरु थपिएछ । जसले गर्दा स्वदेश फर्केपछि पुस्तक संकलनको स्वरुप र संख्या पनि बढ्यो । तर त्यसरी बढे पनि यो संग्रहकालय उनको निजी थियो जसले गर्दा उनी स्वयं र देश विदेशका खास पदाधिकारीले मात्र त्यहाँ प्रवेश पाउँथे । वि.सं. २००७ सालको प्रजातन्त्रोत्तर पछि पनि अतिरथी (फिल्डमार्सल) केसरशम्शेरको यो संग्रहालय निजी नै रहयो। समय बित्दै जाँदा वि. सं. २०२१ सालमा संग्रहकर्ता केसरशमशेरको देहान्त भयो । तर देहान्त हुनु अघि आफूले लामो समयसम्म श्रम र साधन लगाएर संकलन गरेको बौद्धिक तथा ऐतिहासिक रुपको संग्रहालय राष्ट्रिय सम्पत्तिको रुपमा जाओस् र ज्ञानपिपासु सबैले यसबाट लाभ लिन सकून् भन्ने अभिप्राय उनले व्यक्त गरेका रहेछन्, जसअनुसार उनका उत्तराधिकारीबाट यसलाई राष्ट्रिय रुपमा समर्पित गरियो र सरकारको स्वामित्वमा आयो । त्यसरी आएपछि २०२६ साल श्रावण १ गते देखि संकलकको नामलाई यथावत् कायमराखी केसर पुस्तकालय नामले उनकै महलमा यो परिचालित हुँदै आएको छ ।

 पुस्तकालय खुल्ने समय:

क. विहान १० बजेदेखि ५ बजे सम्म (विदाको दिन बाहेक)

ख. कार्तिक १६ देखि माघ १५ सम्म १० बजेदेखि ४ बजेसम्म

 ग. शुक्रबार विहान १० बजेदेखि ३ बजेसम्म