Print

नेपालको विगत कालतिर दृष्टि दिंदा राजा गिर्वाणयुद्ध विक्रम शाहको (वि.सं. १८६९) पालामा पुस्तक चिताई तहविलको रुपमा आधिकारिक पुस्तकालयको स्थापना भएको पाइए पनि पुस्तकालयको संरचनामा सर्वप्रथम राणप्रधानमन्त्री वीरशम्शेरको ध्यान गएको देखिन्छ । जसको फलस्वरुप वीर पुस्तकालयको स्थापना भयो । निजीस्तरको त्यसरी पूतकालय तयार गर्नेहरुमा नायव वडा गुरुज्यू हेमराज पाण्डे, सरदार राममणि आदि देखिएका छन् भने चन्द्र शम्शेरका छोरा केसर शम्शेर पनि त्यही पंक्तिमा पर्दछन् । आफनो सतवार्षिकि समेत मनाइ सकेको यस पुस्तकालय चार दशकदेखि केसर पुस्तकालय नामले राष्ट्रिय स्तरको पूस्तकालयको रुपमा परिचालित हुँदै आएको छ ।

 

एकतन्त्रीय शासनको अन्त्यमा चन्द्रपुत्र केसर शम्शेर लाठसाहेब थिए । किशोर अवस्थादेखि उनमा विविध किसिमका पुस्तक पत्रपत्रिकाहरु किन्ने संकलन गर्ने सौख जागेछ । यस्तै क्रममा उनीलाई पदाधिकारीका रुपमा बेलायत जाने मौका मिल्यो । बेलायत पुगेका केसरको ज्ञानविज्ञानतिरको हौसला र आकर्षण अरु थपिएछ । जसले गर्दा स्वदेश फर्केपछि पुस्तक संकलनको स्वरुप र संख्या पनि बढ्यो । तर त्यसरी बढे पनि यो संग्रहकालय उनको निजी थियो जसले गर्दा उनी स्वयं र देश विदेशका खास पदाधिकारीले मात्र त्यहाँ प्रवेश पाउँथे । वि.सं. २००७ सालको प्रजातन्त्रोत्तर पछि पनि अतिरथी (फिल्डमार्सल) केसरशम्शेरको यो संग्रहालय निजी नै रहयो। समय बित्दै जाँदा वि. सं. २०२१ सालमा संग्रहकर्ता केसरशमशेरको देहान्त भयो । तर देहान्त हुनु अघि आफूले लामो समयसम्म श्रम र साधन लगाएर संकलन गरेको बौद्धिक तथा ऐतिहासिक रुपको संग्रहालय राष्ट्रिय सम्पत्तिको रुपमा जाओस् र ज्ञानपिपासु सबैले यसबाट लाभ लिन सकून् भन्ने अभिप्राय उनले व्यक्त गरेका रहेछन्, जसअनुसार उनका उत्तराधिकारीबाट यसलाई राष्ट्रिय रुपमा समर्पित गरियो र सरकारको स्वामित्वमा आयो । त्यसरी आएपछि २०२६ साल श्रावण १ गते देखि संकलकको नामलाई यथावत् कायमराखी केसर पुस्तकालय नामले उनकै महलमा यो परिचालित हुँदै आएको छ ।